Friday, December 12, 2014

Filled Under: , ,

सपनाको देश जापानमा नेपाली बिध्यार्थीको बास्तविक कथा

:अभिनाश तामाङ
नेपालमा हुँदा रहरै रहरका सपना थिएँ । उमेर धेरै नभएकाले पनि त्यस्ता उल्लासमय सपना आउनु स्वाभाविक थियो । त्यही लहलहैमा लागेर जापान जाने निधो गरें ।
दिनहरु रमाईला थिए ! संसार सँधै उज्यालो नै लाग्थ्यो । एक सामान्य परिवारमा जन्मिए एक छाक खान र सुत्न बिछ्यौनाको कमी थिएन । आङ ढाक्ने र छोप्ने लुगा लगाएकै थिएँ । तैपनि मनमा चित्त नबुझेको र अपुग नै जस्तो लाग्थ्यो । अनेकौ कल्पना र सोचहरु मनमा आउन थाल्यो । जीवनलाई वास्ताविकतामा अर्थ्याउन चाहेँ । भविष्यको बारेमा एक दुई शब्द सोच्न थालें ।
अब यसरी जीवन चल्दैन विदेश गएर केही पैसा कमाउछु र घरतिर पनि भाइ बहिनी र बुबा-आमाको सपना पूरा गर्छु र गर्नुपर्छ भन्ने कुराहरु मनमा खेल्न थालें । यताउति बुझिहेरे प्लस टु पनि भर्खर सकिएको थियो । सबैजना जापान जापान भन्दोरैछन् । त्यतिबेला जापान सायद सबैको चाहना बन्दोरहेछ । सबैजना जापानमा अध्ययनसँगै कामको लागि कन्सलटेन्सीतिर जापानी किताब बोकी पढ्दै गरेको देखें र मैले पनि विचार गरें बरु जापानतिर पो जानु पर्यो कि क्या हो १ पैसा पनि कमाउने र पढ्न पनि पाउने ।
त्यसपछि मनमा एक सोच आयो, अब जापान जान्छु । म पनि एक कन्सलटेन्सीबाट जापानी भाषा सिक्न थालें । पढ्दै जाँदा र टिचरहरुको कुरा सुन्दा विस्तारै मलाई पनि जापान चासोको विषय बन्दै गयो । मन लागेर, घरमा खाना खान छोडेर म दिनरात जापानी भाषा पढ्न थालें । झन्डै पढाइ सुरु गरेको ४ र ५ महिनापछि आवेदन दिने निधो गरें । परीक्षामा पनि उतिर्ण भइसकेको थिएँ । यता उति ऋण मागेर जापानको लागि अध्ययन र आवेदन दिएँ । आवेदन गरेको ४ महिना नबित्दै जापान सरकारले मलाई जापानमा पढ्नको लागि अनुमति दियो ।
मन चङगा झै आकाशमा उड्न थाल्यो । हर कुरा र सपनामा पनि जापान आँउथ्यो । त्यतिबेला कहिले जापान पुग्ने होला, भनेर प्रत्येक दिन गन्दै बसें । साहुको चर्को ऋणको भारी बोकी ९ अप्रिलमा म नेपाल छोडी अनेकौ सपनाहरु पूरा गर्न जापान आएँ । मन कौतुहलको सिकार बन्न पुग्थ्यो । र १० अप्रिलमा कल्पना र सपनाको भारी बिसाउन जापानको भुमीमा कलिला खुट्टा टेक्न पुगें ।
जापानको ठूलाठूला घरहरु, सफा ती बाटोहरु अनि सुन्दर वातावरणले मलाई साँच्चिकै आश्चर्य बनाइदियो । नेपालमा आमा -बुबा र परिवारहरुलाई खबर दिएँ म जापानमा राम्रैसँग आइपुगे चिन्ता नगर्नु भनें । दिनहरु त्यतिकै बितेजस्तो लाग्थ्यो । खुसी मनले सपनाहरु पनि खुसी नै देखिन्थ्यो । विस्तारै कलेजतिर पनि जान थालें । अब अर्को कुरा काम को । केही दाइहरु पहिला नै (२र३) आइसकेको हुनाले मैले खासै चिन्ताको विषय बनाएन ।
आजभन्दा भोलिभन्दा अन्य नेपाली दाइहरु पनि चिन्न थालें । सबैले काम मिल्छ, हुन्छ भन्थे । मन त्यसैमा अडिन्थ्यो । केही दिनपछि एकजना दाइले उ काम गर्ने कम्पनीमा मलाई कामको लागि (स्योउखाई)  चिनाईदिनुभयो । त्यसको १ हप्तापछि म त्यस कम्पनीमा काम गर्न थालें । नेपालमा जानेको र सिकेको भाषाले त यहाँ काम नगर्दोरहेछ । थोरै १०० मा ५५ मात्र । जिन्दगीको घरसंसार रंगाउन मैले त्यही दिनबाट जिन्दगीको सांघर्षीक यात्रा शुरु गरें । शुरु-शुरुमा भएर होला भाषा पनि बुझ्दैन थियो । काम निकै गाह्रो लाग्यो । पसिनासँगै आँशुका धाराहरु तपतप चुहिन्थ्यो ।
(-१)  डिग्री तपाइँहरु आफै सोच्नुहोस हप्ताको ४ दिन म त्यस ठाँउमा बसेर रात कटाउथें । शरीर पूरा फ्रिज हुन्थ्यो । हात र खुट्टा छ कि छैन मैले चाल पाँउदिन थिए । घरपरिवार सम्झिन्थें मन त्यतिकै रोएर आँउथ्यो । आँसुले सिरानी भिजेको पत्तो पाँउदिन थिएँ । बेक्कारमा जापान आएको जस्तो लाग्थ्यो । तैपनि घर बाट सोध्दा काम राम्रै छ, सजिलै छ भन्थे । बुबा खुसी हुनुहुन्थ्यो र म पनि परिवार कै खुसीमा जवर्जस्ती रम्थें ।
त्यही एउटा काम थियो । महिनामा १० र ११ मा आँउथ्यो । जुन मान्छे (रविन दाइ) ले मलाई काम दिलाउनुभयो म उहाँप्रति सँधै आभारी हुन्छु र रहनेछु, त्यतिले खर्च धान्न मुस्किल पर्थ्यो । त्यही पनि कलेज धेरै टाढा ट्रेन भाडा पनि चर्को लाग्थ्यो । फेरि त्यो काम पनि बीचको समयमा पर्थ्यो न रातको काम गर्न मिल्नु न दिनको । छोडौं पनि त्यही एउटा काम नछोडौं पनि त्यसले केही नधान्ने ।
खाउ भने दिनभरीको सिकार नखाउ भने ठ्याक्कै कान्छा बाउको अनुहारजस्तो त्यो काम मैले ६ महिनापछि छोडिदिएँ । त्यसपछि मैले दिउँसोको काम गर्न थालें, काम चाहिँ धेरै सजिलो तर पैसा अति कम । त्यसमाथि पनि जापान आएको १ वर्ष नहुन्जेल प्रत्येक महिना आउने तलबको २०% (प्रतिशत)  काट्दोरहेछ । तैपनि रातिको काम पाउने आशाले मैले त्यो काम छोडिन र अहिले पनि गर्दै छु । गर्दै गए रातिको कामको लागि कतैबाट पनि मिल्न सकिन । कलेजमा पैसा बुझाउने बेला भैसक्यो काम एउटा गतिलो भेटेको हैन । मन त्यसै अत्तालिन्थ्यो । तैपनि आशा मरेको थिएन । एकदिन रातिको कामको लागि फोन गरें अन्तर्वार्ताको लागि बोला़यो । मन केही हदसम्म हलुङगो भयो । अन्तर्वार्तामा पनि सफल भएँ ।
हप्ताको ३ दिनसम्म १ नसुती काम गर्न थाल्यो । तर रातिको काम पनि सजिलै पर्यो । तैपनि अनिदोले शरीर त्यसै गल्थ्यो । त्यसपछि यो संसार रातमा छ कि दिनमा थाहा भएन । सँधै निन्द्रामा दिन बित्न थाल्यो । तर मेरो संघर्ष अनर्थ भयो । भएको सबै पैसा कलेजमा भेटी चढाईदिएँ । त्यत्रो काम गरेको अन्तिममा हात लाग्यो शून्य । पैसा नभएपछि मैले केहीको व्यवस्था गर्नै सकिन । रातको काम फेरि २ महिना काम गरेर १ महिना बिदा बस्नुपर्ने थियो । त्यसबेला म आँफैसँग हारें, चिन्ताले छाति भत्काउन थालें । विस्तारै मैले मेरो बाटोहरु छोड्दै छु अहिले । हार स्वीकारेको छु ।
सपनाहरु झुटो र अपुरो हुने डर लाग्छ तर यसलाई पुरा गर्नेछु । अन्तिममा एउटा सन्देश छोड्न चाहन्छु । जति नेपालमा जापानको अध्ययनका लागि तम्सिएका दाजुभाइ, दिदीबहिनीहरु हो, कन्सलटेन्सीको प्रलोभन र साथीहरुको लहलहैमा तपाईं जापान नआउनुहोस । किनकी तपाईंको त्यो सपना, कल्पनाहरु जापानले पूरा नगर्न पनि सक्छ । एकपल्ट होइन १० पल्ट सोच्नुहोस । श्रम जहाँपनि एउटै हो, आखिर पसिनासँग पैसा साट्नैपर्छ । विचार गर्नुहोस । अनि मात्र आउनुहोस । (सबैसँग मेल नखाए पनि)यो मेरो वास्ताविक अनुभव हो ।


नोटः धेरै बिध्यार्थी साथीहरुको जापानी जीवनसंग मेल खाने यो यथार्थ लेख जापान आउन चाहने र भर्खरै आउनुभएका साथीहरुको लागी उपयोगी हुने भएकाले हामीले यो लेख नेपाल सन्देश डटकम बाट साभार गरेर राखेका हौं।
तपाईका पनि आफ्नै जीवनका यस्तै यथार्थ कथाहरु, सपनाका महल र अहिलेको बास्तबिकता आदि लेखेर हामी मार्फत शेयर गर्न सक्नुहुन्छ, तपाईं पठाउनुहोस हामी प्रकाशित गर्नेछौं। तपाईका दुख या सुखका यस्तै क्षणहरु भावी दिनमा धेरैका लागी मार्गदर्शन बन्न पनि सक्छन।
लेख रचना पठाउने ठेगानाः  president (at) nesaj.info