Monday, December 15, 2014

Filled Under: , ,

भाषा पढ्न जापान आउने नेपाली विध्यार्थीका लागि उपयोगी सुझाव


किन जापानी भाषा पढ्न जाने? धेरैको उत्तर हुने गर्छ - उज्ज्वल भविष्य बनाउन । तर उनीहरु मध्ये धेरैलाई कसरी उज्ज्वल भविष्य बन्छ भन्ने थाहा नै हुदैन । अर्थात भविष्य उज्ज्वल बनाउने योजनाका बारेमा उनीहरूले गहिरो गरी सोचेका हुदैनन् । त्यसैले यदि तपाई वा तपाईका आफन्त जापानमा भाषा पढ्न आउने योजनामा हुनुहुन्छ भने निम्न कुरामा विचार पुर्याउनु आवश्यक हुन्छ ।

१) जापानमा भाषा पढ्न समय र पैसा दुवै खर्चनु पर्छ । अहिलेको तपाईको अबस्थामा नेपालमा नै बसी त्यति कै समय, श्रम र पैसा खर्च गर्नेहो भने कुन स्तरमा पुगिन्छ होला भन्ने बारेमा सोचेर मात्र जाने निर्णय लिनु बेश हुन्छ ।

२) जापानी भाषा पढ्न भनि त्यत्रो धन र समय खर्च गर्न आवश्यक भए नभएको बारको सोच । यदि तपाईले नेपालमा उच्च श्रेणीमा स्नातक तहको (४ वर्षे कोर्स) अध्ययन पुरा गर्नु भएको छ भने भाषा नपढी सिधै विश्वविद्यालयमा सम्बन्धित विषयको मास्टर्स डिग्री लेवलमा एडमिशन लिन सकिन्छ । सरकारी विश्वविद्यालयको वार्षिक फिस ५ लाख ५० हजार ऐन जति हुन्छ भने प्राइवेटमा झण्डै दोब्बर । यसरी विश्वविद्यालयमा एड्मिशन गर्न नेपाल अवस्थित दलाल वा एजेन्टको कुनै भूमिका हुदैन । त्यसैले दलालको पछि नलागी आफैले सम्वन्धित विश्वविद्यालयको वेबसाइट हेरी ईमेलबाट करेस्पोन्डेन्स गर्नु पर्छ । एडमिशन पाएपछि छात्रवृति पाउन पनि सकिन्छ ।

३) भाषा पढ्नु मात्र कुनै गन्तव्य होइन । यो त त्यसपछिको उच्च शिक्षा हासिल गर्ने माध्यम मात्र हो । त्यसैले कति महिना वा वर्ष भाषा पढेर कुन विषयको कुन स्तरको अध्ययन गर्ने भन्ने योजना नेपालमा रहदै बनाएको बेश हुन्छ । 

४) जापानको भौगोलिक अबस्थामा बारेमा इन्टरनेट तथा अन्य माध्यमबाट राम्ररी जानकारी लिने । कुन सहरमा पढ्ने भन्ने बारेमा सोच्ने । ठूला सहरको बसाई बढि नै खर्चिलो हुन्छ । साना सहरतिर केही सस्तो हुन्छ तर नेपाली साथीभाईको संख्या सीमित हुनसक्छ र भेटघाट विरलै भई बसाई पट्यार लाग्दो हुन सक्छ । साथै वरपर ठूला विश्वविद्यालय नहुनाले भाषा पछि पढ्ने ठाउ खोज्न गाह्रो हुनसक्छ ।
५) भाषा पढ्न जानका लागि एजेन्टको सहयोग लिन सकिन्छ । तर ठग दलाल एजेन्टको फन्दामा नपर्नु होला । साथै कुनै एक एजेन्ट सेवा लिनु भन्दा पहिले दुईचार वटा एजेन्टका बारेमा प्रत्यक्षरूपमा बुझ्ने । उनीहरूले दिने सेवा र शुल्कका बारेमा लिखित रूपमा माग्ने र तुलना गर्ने । एजेन्टको काम जापानको भाषा कलेजमा एडमिशन गरेको कागज भिराइ दिएर काठमाण्डौको एयरपोर्टबाट बिदा गर्ने मात्र नभएर जापान गइसकेपछिको जीवनलाई सरल पार्ने पनि हो । जस्तो - पार्टटाइम काम खोजी दिने, होस्टेल खोजी दिने, भाषा पश्चात व्यबसायिक कलेज (सेन्मोन गाक्को) वा विश्वविद्यालयमा एडमिशन गर्ने काममा सहयोग गर्ने, आदि ।
६) भाषा पढ्नेकाम सजिलो छैन किनकि पढाईका अतिरिक्त कडा परिश्रम गरी गासबासको लागि आवश्यक अर्थोपार्जन गर्नु बाध्यता हुन्छ । त्यस्तोबेलामा केहि मानसिक र शारीरिक पीडा सहनगर्न सकिन्छ सकिन्न भन्ने बारेको सोच हुन जरूरी छ ।

(उहाँ जापानमा उच्च शिक्षा हासील गरि हाल जापानमै कार्यरत हुनुहुन्छ)

यो पनि पढ्नुहोस

जापानमा अध्ययनका लागी उपलब्ध केही छात्रबृत्तीहरु