पौष ११ गते शुक्रबार नागरिक
दैनिकको पृष्ठ ४ मा छापिएको समाचार शिर्षकले मेरो ध्यान खिच्यो, जसको शिर्षक थियो "जापान जाने
विद्यार्थी बढे"। जापान सम्बन्धि कुनै पनि समाचारहरु सकेसम्म छुटाउन खोजिदैन।
त्यस समाचारमा एक परामर्सदाताको हवाला दिंदै जापान जाने विद्यार्थीले न्यूनतम एउटा कम्पनीमा
दैनिक ४ घन्टा काम गर्छन्, जसले उनीहरूको खाने, बस्ने र पढाइ खर्च पुग्छ। उनीहरूले अन्य
कम्पनीमा पनि ४–४ घन्टाका दरले गरेर दैनिक १२ घन्टा काम गर्दा मासिक ३ लाखसम्म कमाउन सक्छन् र
खर्च कटाएर मासिक १ देखि डेढ लाखसम्म बचत गर्न सक्छन् भनेर लेखिएको रहेछ। जुन कुरा
भ्रामक मात्रै नभएर गैरकानुनी पनि हो। समाचारको यो अशं पढेपछि मलाई फेरी घोरिएर
सोच्न बाध्य बनायो, के यसरी खुलेआम गैरकानुनी आश्वासनहरु बाँडेर मानिसको
सेन्टिमेन्टमा ब्यापार गर्न पाईन्छ? जबकी जापानमा बिध्यार्थि भिषामा आउने जोसुकैले
काम गर्न पाउने भनेको हप्तामा अधिकतम २८ घण्टा भनेर कानुनत तोकिएको छ जस हिसाबले दैनिक ४ घण्टा
अधीकतम हो, जसलाई न्युनतम भनिएको छ। यो कामको समयको कुरा भयो अझै अरु के के झुटा आश्वासन
भरेर पठाउने रहेछन त्यो कल्पना गर्न सकिन्छ।
यसै महिनाको शुरुमा
टोकियोमा नेसाजले बिध्यार्थीका समस्याहरुका बारेमा छलफल र समाधानका लागी उपायहरुको
छलफल कार्यक्रम गरेको थियो, जसमा बिशेषत भर्खरै जापान आईपुगेका साथिहरुका समस्या धेरै थिए
जसमा देखिएको थियो सहि परामर्शको अभाव भन्दा पनि गलत परामर्श। कहिलेकाहीं त
लाग्थ्यो हामी जापान जान पाउने भए जे सुकै होस जान्छु भनेर हिड्छौं, सायद त्यहाँ परामर्शदाताले
सहि कुरा नै भन्छन। तर यो समाचारको अंस पढेपछि लाग्यो ति परामर्श दाता नभएर दुवाली
छेकेर, बल्छी झुन्ड्याउदै माछा मार्न किनारामा बसेका माझीहरु हुन।
मुख्य समस्या त्यहाँ भनिने यस्तै
गलत कुराहरु हुन जसले गर्दा बिध्यार्थि र उसको परिवारमा सपनाको एउटा महल खडा
हुन्छ। उसलाई लाग्छ अब गएको १-२ महिनामै पैसा पठाउन थालीन्छ अनि साँवा ब्याज
तिरिन्छ जुन कुरामा परिवारलाई आश्वास्त पारेर मासिक सयकडाका ब्याजदरले ऋण लिएर
जापान उड्छ। जब जापानमा आइपुग्छ अनि केहि समयमै परिवारबाट ताकेता आउन ताल्छ ब्याज
यति पुग्यो उति पुग्यो, परिवारको नजरमा उहि महल अझै खडा हुन्छ तर बास्तबिकतामा
जापान आएको केहि दिनमै उसले त्यो महल ढलेको देखेको हुन्छ, जुन कुरा उसले आफ्नो
परिवारमा पनि शेयर गर्न सक्दैन उ चिन्तित हुन थाल्छ र मानसिक तथा अन्य स्वस्थ्य
सम्बन्धि असर देखिन्छ । यो कुनै काल्पनिक कुरा होईन यहाँको पछिल्लो समयको
बस्तबिकता हो जुन धेरै देखिन थालेको छ र यो संख्या अझै बढ्ने निश्चित छ।
यसै महिना एक जना
बिध्यार्थि भाई दुख पोख्दै थिए, "हामीलाई नेपालबाट ऊडेपछि नेपालको परामर्शदाता कम्पनिले
बेवास्ता गर्यो, एअरपोर्टमा लिन समेत कोहि आएन अन्त्यमा अन्य समुहका साथ आएर एक रात चिसो
कोठामा बिताउनु पर्यो। उहाँबाट भाषा खासै नसिकाई पठाए जसले गर्दा म आज बैंकमा खाता
खोल्न जान समेत सक्दिन, काम टन्नै गर्न पाईन्छ, काम हामी नै मिलाईदिन्छौं भनेर भने तर आएको डेढ
महिना भइसक्यो मैले काम पाएको छैन बरु काम खोजिदिन्छु भनेर कमिसन माग्ने दलाल
मात्रै भेटेको छु"। यस्ता समस्या सामान्य हुन थालेका छन यहाँ किनकि खोला
किनारमा मझिहरुको संख्या थपिंदो छ। यसरी खुलेआम गैरकानुनी रुपमा ठगि गर्नेहरुलाई
कारबाही गर्ने कसले??
जापानमा आएपछि काम सहजै
पाईन्छ, जतिपनि काम गर्न पाईन्छ भन्ने भ्रमबाट मुक्त हुनुहुन अनुरोध गर्दछु,
कानुनत काम गर्न पाउने भनेको हप्तामा २८ घण्टा मात्रै हो। भाषामा राम्रो नभइ काम
पाउन गार्हो छ, आउना साथ काम पाउने संभावना छैन करिब ३-४ महिनासम्म पनि लाग्न
सक्छ। कामको प्रकृति हेरेर कमाई भनेको घण्टको ८००-१२०० सम्म हो।
यस्ता झुटका पुलिन्दाहरु
बेचेर आफ्नो ब्यापारिक स्वार्थ लिनेहरुको साथ दिएर नागरिकहरुमाथि गलत सुचना प्रबाह
गरेकोमा नागरिक दैनिकले आफ्नो भुल सच्याउदै बास्तविकतालाई बुझेर जनचेतना फैलाउन
सहयोग गर्नेछ भन्ने आशा गरेको छु।
ऋषिराम पराजुली
अध्यक्ष
नेपाली बिध्यार्थी समाज,
जापान (NESAJ)
(नागरिक दैनिकमा छापिएको समाचारमा रहेको झुटलाई केही प्रष्ट्याउन पठाईएको पत्र, जसलाई नागरिकले पौष १३ गते आईतबार छापेको छ)